थारू समुदायमा अधिक मात्रामा सिकलसेल तथा थालसेमिया रोगको प्रकोप

राप्तीसोनारीको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकल सेल रोग फेला

३० जेष्ठ,कोहलपुर / बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया रोगको प्रकोप अधिक मात्रामा देखिएको छ । जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्यामा थारू समुदायका मानिसलाई यो रोग देखापरेको छ । स्वास्थ्य कार्यालय, बाँकेले विगत दश दिनदेखि थारू समुदायमा सिकल सेल तथा थाल सेमिया रोगको स्याम्पल जाँच गरिरहेको छ ।
राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकल सेल रोग देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेले यो दश दिनको अवधिमा चार सय जनाको स्याम्पल जाँच गरिसकेको छ । त्यस मध्येमा एक सय ५० जनाको नतिजा आएको हो । नतिजा आएकामध्ये ३१ प्रतिशतलाई रोग देखा परेको छ ।
बाँकेको कोहलपुरमा नगरपालिका आफैले सिकल सेल जाँच गरेको छ । कोहलपुर नगरपालिकाले नौ हजार मानिसको स्याम्पल जाँच गर्दा सात सयमा रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ ।